News in Nepali

भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन: गृहमन्त्री श्रेष्ठ

Lumbinikhabar Online

। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको बारेमा पनि थप अनुसन्धान भइरहेको बताएका छन् । आज (बिहीवार) नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको भन्दै उनले देशमा व्याप्त भ्रष्टाचारको जालो र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।

‘जनतालाई हामीले जीवन फेरिएको अनुभुति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ,’ उनले भने, ‘यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तबमात्रै समृद्धि हासिल हुनेछ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पती कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ ।’ प्रहरीलाई आफूले निष्पक्ष रुपमा काम गर्न भनिसकेको पनि उनले बताए । भने, ‘राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन की भनेर अरु प्रमाणहरु पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’’ गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी बनाएर देशका नागरिकलाई बेच्ने कार्य कुनै पनि हालतमा सह्य नहुने बताए ।

Tags

छुटाउनु भयो कि ?