News in Nepali

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रस्ट छ : प्रधानमन्त्री

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहालले लिम्पियाधुरा लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रस्ट रहेको बताएका छन् । उनले सीमा समस्या समाधान गर्नमा सरकारले कूटनीतिक पहल गर्ने पनि बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सीमाको विषयमा उठेका प्रश्नको जवाफ दिएका हुन् । भारतले मिचेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको रहेकोमा सरकार स्पष्ट रहेको उनले बताएका हुन् । परराष्ट्र नीति संचालनमा पनि सरकारको धारणा स्पष्ट रहेको उनले बताए ।
‘परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने कुरामा सरकार विश्वास राख्दछ । राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सीमानाको सुरक्षाको लागि सरकार सदैव सचेत र प्रतिबद्ध छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ ।’

सीमासम्बन्धी विषयलाई तथ्यका आधारमा समाधान गर्नुपर्ने विषय सरकारको प्राथमिकतामा रहने पनि प्रधानमन्त्रीको भनाइ थियो । ‘थाती रहेका सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ र प्रतिबद्ध रहेको जानकारी पनि माननीय सदस्यहरूलाई गराउन चाहन्छु,’ उनले भने ।

 

Tags

छुटाउनु भयो कि ?