राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दल नेता बनाउन निर्देशन दिने निर्णय गरेको छ।
सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दल नेतामा पुन: सभापति लामिछानेलाई चयन गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले बताए।
लामिछाने वैशाख १० को उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। यसअघि रास्वपा संसदीय दल नेता रहेका उपसभापति डिपी अर्यालले पदबाट राजीनामा दिएका थिए।
सभापति लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिदिएको थियो। त्यसपछि लामिछाने सभापति, संसदीय दल नेतालगायत पदबाट राजीनामा दिएका थिए।
केन्द्रीय समितिले विषम परिस्थितिमा जिम्मेवारी लिएर काम गरेको भन्दै उपसभापति अर्याललाई धन्यवादसमेत दिएको छ।
रास्वपाको आजै बस्ने संसदीय दल बैठकले सभापति लामिछानेलाई संसदीय दल नेता चयन गर्ने सम्भावना छ।