News in Nepali

सरकार र महावीर पुनबीच आज वार्ता हुने

Lumbinikhabar Online

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सोमबार पनि वार्ता हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारी पक्ष र महावीर पुनको पक्षबीच छलफल हुने भएको हो ।

उपप्रधानमन्त्री खड्काको सचिवालयका अनुसार सोमबार ४ बजे सिंहदरबारस्थित रक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो । सरकार र पुनबीच आइतबार पनि रक्षा मन्त्रालयमा छलफल भएको थियो । छलफलपछि पुनले सरकारले आफ्ना माग पूरा गर्नका लागि सकारात्मक पहल गरेको बताए । सरकारले माग पूरा गर्नका लागि छलफल भएको बताउँदै उनले सोमबार पनि छलफल हुने जानकारी दिएका थिए ।
पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन धर्नामा रहेका छन् ।

सरकारले आफ्ना माग पूरा नगरेसम्म सडकमै सुतेर धर्ना दिने उनको घोषणा छ । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्ना नरोकिने उनको अडान छ । आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको उनले गुनासो गरिरहेका छन् ।

Tags

छुटाउनु भयो कि ?