कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि पुँजीगत खर्च कटौती गर्न नहुने बताएका छन् । उनले पुँजीगत खर्च कटौती गरेर मुलुकको अर्थतन्त्र उकास्न नसकिने बताए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गुरुङले मुलुकको अर्थतन्त्र समस्यामा रहेको भन्दै त्यसको समाधानका लागि लाग्नुपर्ने बताए ।
‘अहिले हामी पनि अप्ठेरोमा परेका छौं । हामी निकै अप्ठेरो अवस्थाबाट गुज्रिरहेका छौं । मुलुक आर्थिक महासंकटमा परेको छ । हामीले पनि यहाँ यी समस्याको समाधान खोज्नै पर्दछ । तर, समाधानको उपाय खोज्ने क्रममा अहिले हामी आर्थिक महासंकटबाट गुज्रिएको नाममा पूँजीगत खर्च भारी रुपमा कटौती गर्न खोजिएको आभास भएको छ । पूँजीगत खर्च कटौती गरेर उभोगतितिर लैजान सकिँदैन,’ उनले भने । अर्थतन्त्रमा देखिएको संकट मोचनका लागि सत्तापक्ष र प्रतिपक्ष भन्न नहुने उनको भनाइ छ ।
अर्थतन्त्रमा देखिएको संकटबाट मुलुकलाई जोगाउने उपाय खोज्नुपर्ने गुरुङको भनाइ थियो । ‘संकट मोचनका उपायहरू खोजौं । संकटमोचन गरौं,’ उनले भने, ‘अष्ट्रेलिया विकसित मुलुक हो । त्यहाँको राष्ट्रिय जनावर कंगारु हो । त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा त्यहाँ लाखौं कंगारु मार्दैछ । कंगारुको छाला निर्यात गर्दैछ ।
त्यसको मासु पनि प्रयोगमा ल्याउँदैछ । श्रीलंकाले हालसालै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको छ । हाम्रा गाउँमा पनि अहिले बाँदर आतंक मच्चिएको छ । बाँदर आतंक फैलिएको छ । हामीले भन्दैछौं–खेतबारी बाँझो राख्नु हुँदैन । कृषिमा आधुनिकीकरण गरौं । कृषिमा बैज्ञानिकीकरण गरौं । हामी एकातिर भन्दैछौं । अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला !’