प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काठमाडौं तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याकको अनुगमन गरेका छन् ।
टोलीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात प्रकाश ज्वाला, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मुख्य सचिव शंकरदास बैरागी, विभिन्न मन्त्रालयका सचिव र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुर आइपुगेका प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरुको टोलीले भीमफेदी गाउँपालिका-८ महादेवटारमा फाष्ट ट्रयाक अन्तर्गत बनिरहेको सुरुङ मार्ग, मकवानपुरगढी-१ मा निर्माण भइरहेको सुरुङ मार्ग र बकैया-५ पावसमा बकैया खोलामाथिको निर्माण भइरहेको पुलको स्थलगत अनुगमन गरेको हो ।
काठमाडौंबाट तराई मधेश जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा तत्कालीन पुष्पकमल दहाल प्रचण्ड नेतृत्वकै सरकारले नेपाली सेनालाई दिएको थियो । तर, फास्ट ट्रयाक निर्माणको प्रगति ज्यादै न्यून छ । अहिलेसम्म द्रुतमार्गमा २२.४४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।