मिटरब्याजपीडितको माग समयमै समाधान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद लिङ्देनले आकस्मिक समयमा मिटरब्याजपीडितमाथि सोमबार भएको प्रहरी बलप्रयोगको पनि आलोचना गरेका छन् ।
सरकारले मिटरब्याजपीडितको समस्या तत्काल समाधान नगरे पार्टी आन्दोलनमा जाने पनि राप्रपा अध्यक्ष लिङ्देनको भनाइ थियो । ‘सरकारले मिटरब्याजपीडितहरूको, तराईमा आन्दोलनरत हरुवा-चरुवाको माग समयमै समाधान गरोस् । नत्र जिम्मेवार राजनीतिक दलको हैसियतले हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा जानेछ,’ उनले भने ।
राज्य जनताको अभिभावक भएको आभाष दिलाउनुपर्ने लिङ्देनको माग छ । आन्दोलनमा रहेका मिटरब्याजपीडितमाथि भएको सरकारी पक्षको बल प्रयोगको पनि उनले निन्दा गरेका थिए ।
‘यतिबेला यस्तो सरकार छ‚ जसले समाजमा गरिब, सर्वहारा वर्गको अधिनायकत्व हुनेछ भन्ने सपना बाँडेको थियो । यति नै बेला गरिब र निमुखामाथि यस्तो बर्बर आक्रमण किन भइरहेको छ ?,’ उनको प्रश्न थियो ।