चालु आर्थिक बर्षको चैत मसान्तसम्म रोल्पा प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिएका ३४ फरार प्रतिवादी पक्राउ गरेको छ।
बिभिन्न अभियोगमा दोषी ठहर भइ अदालतले जेल र आर्थिक सजाय तोकिएका ३४ जना फरार प्रतिवादी पक्राउ गरी अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्न पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले जानकारी दिए।
पक्राउ परेका ३४ जनालाई तोकिएको कैद ७६ बर्ष ८ महिना ७ दिन कैद सजाय कार्यान्वयन गर्न कारागार चलान गरिएको छ। त्यस्तै उनीहरुबाट ४ लाख ४९ हजार ६१० रुपैंया जरिवाना अशुलउपर भएको डिएसपी मगरले बताए।
पछिल्लो समय चैत ३० गते जिल्लाको रुन्टीगढी गाउँपालिका – ७ का ३४ बर्षीय दीपक खड्का पक्राउ परेका छन्। उनी रुन्टीगढी – ९ होलेसीस्थित विद्युत कार्यालय नजिक बाट पक्राउ परेका थिए।
२०७२ साल चैत ३ गते जिल्ला अदालत दाङले खड्कालाई चोरी मुद्दामा १ बर्ष १५ दिन कैद र ६६ हजार ५ सय जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचिमा रहँदै आएका थिए।
खड्कालाई बैशाख ३ गते जिल्ला अदालत दाङमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको डिएसपी मगरले जानकारी दिए।
त्यस्तै लागु औषध मुद्दामा जिल्ला अदालत रोल्पाले १ बर्ष ६ महिना कैद र ५ हजार जनिवाना तोकिएका थवाङ गाउँपालिका– २ का ५० बर्षीय धनकुमारी झाँक्री पक्राउ परेकी छन्।
रोल्पा अदालतले २०७६ फागुन २९ गते झाँकी बिरुद्ध उक्त सजाय हुने फैसला गरेको थियो। उनलाई गत चैत २७ गते पक्राउ गरि अदालत पेश गरिएको र अदालतको आदेश बमोजिम तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।
चोरी मुद्दामा ०७८ चैत १५ गते ६ महिना २७ दिन कैद सजाय तोकिएका रोल्पा नगरपालिका – ७ का ४० बर्षीय गंगाराम पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ। चैत २७ गते पक्राउ पछि उनलाई जिल्ला अदालत पेश गरिएको र अदालतको आदेशलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ।