News in Nepali

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रमुख तीन दल सहमत

Lumbinikhabar Online

प्रमुख तीन राजनीतिक दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेकाे छ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो।

सोमबार ओलीनिवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको जानकारी दिए।

‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई स्थायी नियुक्तिको प्रक्रिया संवैधानिक परिषदबाट गर्ने कुरा जुन छ, त्यसमा पहल गर्नुभयो । प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी ओलीजीले त्यसमा सहमति गर्नुभएको छ । चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर टुंग्याउने सहमति भएको छ,’ उनले भने।

बैठकमा संसद्को समितिहरू सञ्चालन र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने कुरामा पनि छलफल भएको प्रमुख सचेतक लेखकले जानकारी दिए।

 

Tags

छुटाउनु भयो कि ?