News in Nepali

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता

Lumbinikhabar Online

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका राजदूत श्रीवास्तवसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।
यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने भन्दै वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरेका थिए ।

साथै उपप्रधानमन्त्री श्रेष्ठले सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा राखेका थिए । भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा ‘बोर्डर आउटपोस्ट’ निरीक्षण गरेको र त्यस क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य देखेको उनले बताएका थिए ।

यसैबीच राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताएका थिए । साथै उनले सीमा क्षेत्रमा दुबै पक्ष संवेदनशील हुनुपर्ने बताए । नेपालगन्ज- रुपेडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको बताइएको छ ।

श्रीवास्तवले गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको स्मरण गराएका थिए । त्यसका लागि भारतीय पक्ष तयार रहेको समेत राजदूत श्रीवास्तवले बताएका थिए ।

 

 

Tags

छुटाउनु भयो कि ?