News in Nepali

मुकुन्द न्यौपानेले छाडे नेकपा एकीकृत समाजवादी

Lumbinikhabar Online

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

पार्टी छाड्दै गर्दा उनले नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनको सीमसार दलदलमा फसेको बताए । पार्टी नेतृत्व पार्टीका बैठकमा नभई कोठेराजनीतिमा संलग्न भएको पनि उनको आरोप छ ।

स्थानीय तह हुँदै संघीय निर्वाचनसम्म आउँदा पार्टीले परिचय दिए पनि पहिचान दिन नसकेको उनको भनाइ छ । ‘भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि महत्त्वपूर्ण कुरा हो’ भन्दै आफूले साधारण सदस्यको जिम्मेवारीबाट समेत बाहिरिएको उनले बताए ।

एमालेसँग अलग भएपछि पार्टी एकीकरणको मुद्दा उठाउँदै आएका नेता न्यौपानेले अन्तत: पार्टीबाट बाहिरिने घोषणा गरेका हुन् । अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता न्यौपानेले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा उनीमाथि स्पष्टीकरण सोधिएको थियो ।
समाजवादी छाडेसँगै उनी एमालेमा प्रवेश गर्ने तयारी गरेको आकलन गरिएको छ । न्यौपाने पहिले नेकपा एमालेमा छँदा मजदुर संगठनको नेतृत्व गर्ने अनुभवी र पहिलो पुस्ताको नेताका रूपमा चिनिन्थे ।

 

Tags

छुटाउनु भयो कि ?