News in Nepali

विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार हुन्छ : सांसद ढकाल

Lumbinikhabar Online

प्रतिनिधिसभा सदस्य हरि ढकालले विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी खाजामा समेत भ्रष्टाचार भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

भ्रष्टाचार संस्थागत भएको सांसद ढकालको भनाइ थियो । ‘भ्रष्टाचार यति संस्थागत भएछ कि गरिब चेपाङ बच्चाको दिवा खाजा लुट्छ । मेरो क्षेत्र (चितवन निर्वाचन क्षेत्र नम्बर १) को भिडियो देख्नुभएको थियो होला । गरिब कुपोषित चेपाङ बच्चाको दिवा खाजामा भ्रष्टाचार छ,’ उनले भने । मुलुकमा सुशासनको थिति बसाल्नुपर्ने उनको भनाइ थियो ।
सांसद ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताए । उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए । ‘विदेशबाट शव ल्याउँदाखेरि शवको बाक्सा फोरिएको छ एयरपोर्टमा ।

केही सामान छ कि भनेर लुट्नलाई, ब्यागहरू फुटेको त जानकारी थियो,’ उनले भने, ‘समाज कहाँ जाँदै छ ? समाज के बन्दै छ ? कारण के हो ? कारण भ्रष्टाचार । भ्रष्टाचार यसरी संस्थागत भएछ कि यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । अचम्मको छ एयरपोर्ट यताबाट लागूऔषध स्क्रिनमा देख्दैन । लागूऔषध कतारमा पुग्छ ।’

 

Tags

छुटाउनु भयो कि ?