नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा वामपन्थी नेता वामदेव गौतमले गरेको प्रस्तावलाई बेवास्ता गरेका छन् । एकीकृत समाजवादीले पार्टी एकताका लागि सुरुमा दुवै तर्फबाट प्रस्ताव र छलफल गरे पनि पछिल्ला दिनमा एकताबारे कुरै गर्न छोडेको नेता गौतमको भनाइ छ ।
‘उहाँहरूले पनि पार्टी एकताका लागि वार्ता समिति गठन गर्नुभयो, एकर्काका दस्ताबेजहरू पनि आदानप्रदान भए । तर पछि खै किन हो उहाँहरूले नै एकताप्रति चासो देखाउनुभएन, वास्तै गर्नुभएन,अपमान गर्नुभयो’, नेता गौतमको भनाइ छ । गत फागुन ६ गते देखि ८ गतेसम्म बसेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा एकीकृत समाजवादी, एमाले र माओवादी केन्द्रमध्ये कुनै एक पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।
विचार सिद्धान्त मिल्ने तीन वटा पार्टीमध्ये कुनै एकसँग वार्ता गरेर एकीकरण गर्ने निर्णय गरेको हो’, गौतमले भने,‘त्यसमध्ये पनि विचारमा सबैभन्दा नजिक रहेको एकीकृत समाजवादीसँग एकीकरण नै गर्ने भनेर एक हिसाबको प्रक्रिया नै सुरु गरे पनि उहाँहरूको बेवास्ताका कारण एकता प्रक्रिया अघि बढ्न सकेन ।’