उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर प्राधिकरणले गरिरहेका कार्यहरुको जानकारी लिने क्रममा नेपाल जलवायुजन्य लगायतका जोखिममा रहेकोले न्यूनीकरण तथा व्यवस्थापनका कामलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
विपद्का ठूला घटना भएपछि त्यसको चर्चा हुने तर भविष्यमा हुनसक्ने विपद् कम गर्नेतिर पर्याप्त काम नहुने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै श्रेष्ठले यसतर्फ ठोस पहलकदमी लिइने आश्वासन पनि दिए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक यथाशीघ्र बसी रणनीतिक र तत्काल गर्नुपर्ने दुवै खालका कार्यहरुलाई अगाडि बढाइने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्ष समेत हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्को पछिल्लो अवस्था, प्राधिकरणले तर्जुमा गरेका कार्यविधि तथा निर्देशिकाहरु एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको प्रभावकारिताका लागि गृह मन्त्रालयसँग प्राधिकरणले गरेका अपेक्षाहरुबारे ब्रिफिङ गरेका थिए।
ब्रिफिङका क्रममा पोखरेलले हरेक वर्ष बढिरहेको विपद्का घटनाहरुले ठूलो मानवीय तथा भौतिक क्षति गरिरहेकोले प्राधिकरणले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।