राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरणको सम्भावना नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मिश्रले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक र कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको बताएका हुन् ।
उनले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पारे । उनले भने, ‘संसारमा कुनै पनि यस्तो देश छैन, जहाँ सरकारी तलब खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन ।
हामी जस्तोसुकै कानुन लिएर आउँ, त्यो कानुनले नै सार्वजनिक विद्यालयका शिक्षकहरूलाई, सरकारी तलब खाने शिक्षकहरूलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा तपाईंले मरिमेट्नुस् यो देशको रूपान्तरण सम्भव छैन ।
हामी सार्वजनिक शिक्षा सुधारको कुरा गर्छौँ, तर हाम्रा छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दैनौँ, यो देशमा सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरूले सके भने आफ्ना छोराछोरीहरूलाई (अपवादलाई छोडेर) सार्वजनिक स्कुलमा पढाउनुहुन्न । किनभने हामी हाम्रा छोराछोरीको भविष्यमा खतरा मोल्न सक्दैनौँ ।’