शुक्रबार कर्णाली प्रदेश सभाको नवौँ बैठकमा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसले समेत मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको छ । यद्यपि काँग्रेसले एमाले सत्तामा रहेसम्म आफू नै प्रतिपक्षको भूमिकामा रहने बताइरहेको छ ।
मुख्यमन्त्री शर्माले राप्रपाबाहेक सबै दलको भोट प्राप्त गरेका थिए । अब सत्तामा काँग्रेस कहिले जाने, एमाले कहिले बाहिरिने भन्ने कुरा नै मुद्दा बनेको छ । १० पुसको सहमतिअनुसार एमालेले अहिलेसम्म तीन वटा मन्त्रालयको जिम्मेवारीसहित सरकारमै छ । यसो हुनुका पछाडि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रष्ट निर्णय नगर्नु नै हो ।
माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेर अघि बढ्न नसकिने बताइरहेपनि मुख्यमन्त्री शर्माले एमालेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिन सकेका छैनन् ।
शुक्रबार विश्वासको मत लिनुभन्दा अगाडि बसेको माओवादी संसदीय दलको बैठकमा एमालेसँग विश्वासको मत माग्ने तर सहकार्य गरेर अगाडि बढ्न नसकिने कुरा भएको थियो । तर व्यवहारतः दलका नेता स्वयम् मुख्यमन्त्री शर्मा रहेकाले सरकारलाई निकास दिनुपर्ने जिम्मेवारी उनमा निर्भर रहन्छ ।
माओवादीका कतिपय सांसद र मन्त्रीले तीन दलको सहकार्य गरेर कर्णालीको विकास र परिवर्तनमा जुट्नुपर्ने बताइरहेका छन् । यो कुरामा एमाले लचक देखिए पनि काँग्रेसले भने मानिरहेको छैन । एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले अझै पनि मुख्यमन्त्री शर्मासँग सौहार्दपूर्ण वातावरण रहेको र शर्माले तीनवटै दल मिलेर अघि बढ्नुपर्ने आश्वासन दिइरहेको बताएका छन् ।
मन्त्री शाहले एमाले–माओवादीबीच अहिलेसम्म सरकार छाड्ने विषयमा कुनै कुरा नभएको बताए । बरु तीन वटै दल एक ठाउँमा उभिएर प्रदेशको परिवर्तनका पक्षमा उभिनुपर्ने कुरा मुख्यमन्त्रीले भनेको उनको भनाइ छ । मुख्यमन्त्री शर्माले शुक्रबारको बैठकमा समेत यही कुरा बताएका थिए । शाह भन्छन्,‘मुख्यमन्त्रीले सरकार छाड् भने हामी छादिउँला तर उहाँले त्यस्तो भन्नु भएको छैन ।’