नेपाली कांग्रेसले तनहुँ, चितवन र बाराका नेताकार्यकर्तालाई गरेको अनुशासनको कारबाही फिर्ता लिएको छ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ०७९ वैशाखमा सम्पन्न निर्वाचनबाहेक त्यसअघिका चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने सबैको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डले जानकारी दिए।
स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिने साथै तिनका प्रस्तावक र समर्थक बस्नेलाई भने वैशाख १० गतेको उपनिर्वाचनमा खेल्ने भूमिकाको आधारमा निर्णय लिइने सहमहामन्त्री पाण्डेले बताए।
आजको बैठकले उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।