नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । चितवनका कोइराला पूर्वजिल्ला सभापति हुन् ।
यस्तै कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।