News in Nepali

कोशी प्रदेशसभा नियमावलीको नयाँ मस्यौदाबाट राजधानी र नामकरणको प्रावधान हटाइयो

Lumbinikhabar Online

कोशी प्रदेशसभा सञ्चालन नियमावलीको नयाँ मस्यौदामा प्रदेश नामकरणको प्रावधान हटाइएको छ । अघिल्लो प्रदेशसभाले प्रदेशसभा सञ्चालन नियमावलीको परिच्छेद १० को ५८ (क) र (ख)मा प्रदेशको राजधानी तथा नामकरणसम्बन्धी प्रावधान थियो ।

हालको प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिले सभामुखलाई बुझाएको नियमावलीको मस्यौदामा भने प्रदेशको राजधानी र नामकरणको विषय हटाइएको हो ।

यद्यपि कोशी प्रदेश नामकरण भएसँगै यहाँ पुनः नामकरण या कोशी खारेजको माग गर्दै आन्दोलन जारी छ ।
मस्यौदा समितिका संयोजक लिलाबल्लभ अधिकारीले प्रदेशसभाले राजधानीको विषय र नामकरणको विषय टुङ्गो लगाइसकेको कारण उक्त प्रावधान राखिराख्नु आवश्यक नभएको बताए । ‘

प्रदेशसभाको अघिल्लो कार्यकालमै प्रदेशको राजधानी तोकिसकिएको र नामकरणको विषय पनि दोस्रो कार्यकालबाट टुङ्गो लागिसकेको हुनाले सोही प्रयोजनका लागि राखिएको प्रावधान हटाइएको हो,’ उनले भने । कोशी प्रदेशसभा सञ्चालन नियमावलीको ५८ (क) र (ख)मा राजधानी र नामको विषयमा २३ वटा बुँदा उल्लेख थियो ।

यसपटकको प्रदेशसभा सञ्चालन नियमावलीमा भने अघिल्लो प्रदेशसभा सञ्चालन नियमावलीका कमजोर पक्षलाई संशोधन गरिएको र कतिपय महत्त्वपूर्ण प्रावधान थप गरिएको मस्यौदा समितिका संयोजक लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

नियमावली मस्यौदा समितिले उक्त नियमावली एकमतले पारित गरेको अधिकारीले बताए । उक्त मस्यौदा अब विधेयकको रूपमा प्रदेशसभामा पेश हुनेछ । प्रदेशसभामा पेश भएको विधेयक संसदमा छलफलपछि पारित भएर कार्यान्वयनमा जाने उनले बताए ।

अघिल्लो प्रदेशसभा सञ्चालन नियमावलीमा भन्दा यस पटक फाइनल गरिएको मस्यौदामा केन्द्र सरकारलाई संविधानमा उल्लेख भएका एकल अधिकार सूचीका विषयमा ध्यानाकर्षण गराउने, संसदीय समितिमा महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने, सांसदले सरकारलाई गरेको प्रश्नको जवाफ ७ दिनभित्र दिनुपर्ने र विधेयकको मस्यौदा सरोकारवालालाई सार्वजनिक गर्ने लगायतका विषय थप गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?