नेपाल सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आभार व्यक्त गरेको छ । संघले लामो समयदेखि उठाउँदै आएको यस मुद्दा सम्बोधन गरेकोमा नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयप्रति आभार व्यक्त गरेको छ ।
वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रम स्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेसँगै श्रमिकले गन्तव्य मुलुकस्थित दूतावासबाट नै पुनः श्रम स्वीकृति लिन पाउने बाटो खुलेको छ । यसका साथै, दुई वर्षे करारपत्र पुरा भएपछि पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी प्रावधानले नचाहँदा नचाहँदै स्वदेश फर्किनुपर्ने बाध्यता समेत हटेको छ । नेपाल सरकारको यस निर्णयले लाखौं श्रमिकलाई हर्षित बनाएको संघको भनाइ छ ।