प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेस संसदीय दल बैठकले निर्णय गरेको छ।
आज नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकले प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वास मतको प्रस्ताव राख्ने र त्यो प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं र सरकारमा सहभागी हुने हो,’ उनले भने। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।
आजै बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो।