काठमाडौं उपत्यकाका २१ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको सञ्जाल ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । पालिकाका उपप्रमुख/उपाध्यक्षको क्षेत्राधिकारमा एकरुपता ल्याउनका लागि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा सञ्जाल गठन गरेको हो ।
बैठकले उपत्यकाका उपप्रमुख र उपाध्यक्षको क्षेत्रधिकारभित्र रहेका सबै काममा एकरुपता ल्याउनका लागि सञ्जाल गठन गरेको डंगोलले जानकारी दिइन् । ‘न्यायिक समिति भनेको स्थानीय तहको अदालत नै हो,’ उनले भनिन्, ‘जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश राजुकुमार खतिवडाज्यूको समेत उपस्थितिमा बसेको बैठकमा हामीले गरेका कामहरू न्यायिक समितिको काम, कर्तव्य र अधिकारसँगै न्यायिक निरुपणका लागि आवश्यक विषयमा उहाँसँग छलफल गरियो । यो एकदमै फलदायी भयो ।’
बैठकमा उपत्यकाका विभिन्न विषयवस्तुबारे उपत्यकाका पालिकाका उपप्रमुख र उपाध्यक्षसँग छलफल गर्दा उपप्रमुख र उपाध्यक्षको क्षेत्रधिकारभित्र रहेका सबै कामलाई एकरुपता ल्याउनका लागि एउटा सञ्जाल बनाउँदा राम्रो हुन्छ भन्ने भएपछि सबैको सल्लाहमा सञ्जाल बनाएको पनि डंगोलले जानकारी दिइन् ।
समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न पनि सञ्जाल फलदायी हुने उपप्रमुख डंगोलको भनाइ छ । उपप्रमुख-उपाध्यक्षहरूको क्षमता विकासमा पनि यसले टेवा पुर्याउने विश्वास लिएको डंगोलले जानकारी दिइन् ।