News in Nepali

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पाको पोल्टामा

Lumbinikhabar Online

खोटाङ फुटबल एकेडेमी (केएफए)ले दिक्तेलमा आयोजना गरेको चौथो संस्करणको ‘दिक्तेल मेयर कप अन्तरक्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा माटीकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ ले हराउँदै नेर्पाले चौथो संस्करणको उपाधि चुमेको हो ।

प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको माटीकाेरे सामाजिक सेवा समाजले नगद ६२ हजार पाँच सयको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका बिकी राई, उत्कृष्ट खेलाडीको उपाधि माटीकोरेका दीपक खत्री, उत्कृष्ट गोलरक्षकको उपाधि माटीकोरेकै नवीन पोखरेल र उदीयमान खेलाडीको उपाधि केएफएका रोहन परियारले प्राप्त गरेका छन् ।

उनीहरूलाई जनही नगद पाँच–पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका अध्यक्ष नूरकाजी सैंजूले जानकारी दिए ।

विजयी टिम र खेलाडीलाई दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले नगद तथा पुरस्कार हस्तान्तरण गरेका थिए । यही फागुन २७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्लाका आठवटा क्लबले सहभागिता जनाएको आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवं कोषाध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?