चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ। शुक्रबार नेसनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको हो।
तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएसँगै सी चिनफिङलाई तत्काल चीनको अर्थतन्त्र उकास्ने चुनौती देखिएको छ।
लगातार तीन वर्षदेखि कोभिड महामारीका कारण लगाइएको प्रतिबन्ध, घरजग्गा क्षेत्रको समस्या र अमेरिकासँग बढ्दो तनावका कारण चिनियाँ अर्थतन्त्र अहिले तुलनात्मक कमजोर अवस्थामा छ।
गत आइतबार मात्र चीनले सन् २०२३ का लागि आर्थिक वृद्धिदर लक्ष्य ५ प्रतिशतमा सीमित गरेको छ। यो लगभग तीन दशककै सबभन्दा कम भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यसअघि सन् २०२२ मा चीनले ५.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। वास्तविक वृद्धि भने लक्ष्यभन्दा कम ३ प्रतिशत मात्र भयो।
अमेरिकासँगको सम्बन्ध जटिल बन्दै गएकाले पनि चीनले आर्थिक वृद्धिको प्रक्षेपण घटाएको हो। कोभिड महामारीका कारण बन्द रहेको व्यापार व्यवसाय खुला हुँदै गए पनि अमेरिकासँगको जटिल सम्बन्धकै कारण चीनले आर्थिक वृद्धिदर प्रक्षेपणमा सर्तकता अपनाएको विश्लेषकहरू बताउँछन्।