नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई राजाजस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्षकोरुपमा देख्न चाहेको बताएका छन् । पौडेललाई बधाई र शुभकामना ज्ञापन गर्दै महामन्त्री थापाले राष्ट्रपति संस्थाबारे संविधानले प्रष्ट व्यवस्था गरेको र राष्ट्रपति विगतको राजसंस्थाको निरन्तरता नभएको बताएका हुन् ।
नेपालको संविधानले राष्ट्रपति पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ, संगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ,’ थापाले भनेका छन्, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । तपाईंलाई हामी राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं ।’
महामन्त्री थापाले संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को रुपमा दिशा निर्देशन गरेको बताए । ‘हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन,’ उनले अघि भनेका छन्, ‘संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो ।’
उनले हरेक निर्णयको सिफारिस गर्ने सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने मान्यता राखिएको बताए । ‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसँग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मिहिनेत थियो । तर, अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ,
न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसँग पनि अतिरिक्त अनुराग रहनुहुँदैन,’ महामन्त्री थापाले भनेका छन्, ‘अब तपाईं हाम्रो दलको मात्र होइन सबैको अभिभावक हो । सँगै दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ, कुनैपनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ ।’