नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपति उम्मेदवारका लागि अयोग्य हुने भएकी छन्।
शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर नपुग्ने भएपछि उनी उम्मेदवार हुने सम्भावना टरेको हो।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ।
पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएका थिए।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठको उमेर त्यतिबेला ३९ वर्ष मात्र भएकाले उपराष्ट्रपति बन्न उनको उमेर नपुग्ने देखिएको हो।
निर्वाचन सम्बन्धी ऐनको दफा ११ मा उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान रहेको छ। उक्त दफाको उपदफा ‘ख’ मा ‘कम्तीमा ४५ वर्ष उमेर पूरा भएको’ हुनुपर्ने उल्लेख छ।