नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेको पनि सहयोग लिएर सर्वसम्मत रुपमा राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू आशावादी रहेको बताएका छन् । शनिबार मनोनयन पत्र दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफूसँगै जेल बसेको स्मरण गरेका थिए ।
एमाले अध्यक्ष केपी ओली पनि मैसँग जेलमा बस्नु भएको हो । लामो समयदेखिको साथी हो । राष्ट्रपति सबैको साझा पद हो । यसमा मलाई जिताउन उहाँले योगदान गर्नुहोला भन्ने लागेको छ,’ पौडेलले भने ।
उनले सर्वसम्मत राष्ट्रपति हुनका लागि आफूले प्रयास गरेको पनि बताएका छन् । ‘रवि लामिछानेसँग पनि सकारात्मक छलफल भएको छ,’ पौडेलले भने । शुक्रबार साँझ बालुवाटारमा भएको बैठकबाट पौडेलको उम्मेदवारीलाई ८ राजनीतिक दलले समर्थन गर्ने जनाएका छन् ।
एमालेले भने उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । पौडेलले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी गणतन्त्र संस्थागत गर्नका लागि भएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धी रक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।