जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्ले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक रोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गरेका छन् । उनले राष्ट्रपतिलाई प्राप्त अधिकारबारे संसद्मा छलफल हुन जरूरी रहेको पनि बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद यादवले नागरिकता कानुनलाई लिएर जन्मसिद्ध नागरिकका सन्तानमाथि खेलबाड भइरहेको बताए । संसदले पारित गरेको विधेयक राष्ट्रपतिबाट पास नभए संसद्प्रति जनताको विश्वास गुम्ने उनको भनाइ थियो । ‘जन्मसिद्ध नागरिकका सन्तानहरूलाई नागरिकता दिन सरकारले अध्यादेश ल्याउँछ, सर्वोच्चले रोक्छ । संसद्ले विधेयक विधेयक पास गर्छ, राष्ट्रपतिले रोक्नुहुनछ ।
यो मुसाबिरालोजस्तो छक्याउने खेल कहिलेसम्म ?,’ उनले भने, ‘यसअघिको संसद्मा नागरिकता विधेयक दुई पटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाइँदा पनि पहिलोपटक राष्ट्रपतिबाट फिर्ता पठाइयो । दोस्रो पटक पुनः पारित गरेर विधेयक पठाइँदा पनि राष्ट्रपतिबाट त्यो विधेयकमा लालमोहर लागेन । किन लागेन ? यो कसको कारण हो ? राष्ट्रपतिको भिटो अधिकारको बारेमा यो सदनमा छलफल हुन जरुरी छ ।’
सरकारले कुनै पनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष सुरु गर्ने यादवको चेतावनी थियो । उनले भने, ‘यो न्यायको मन्दिर हो । आवाजविहीनको आवाज कसले सुनिदिने ? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने ? रुँदै आउँछन् उनीहरू । उनीहरूको लागि न्याय दिने आज कोही छैन । यही न्यायको मन्दिर हो नि । यहीँबाट जनताले न्याय पाउने हुन् ।
जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ ? बाबु र आमा नेपाली नागरिक हुँदाहुँदै पनि आज नागरिकताबिना भड्किरहेका छन् । म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदनमा संघर्ष गर्छ ।’
सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरूलाई नागरिकताविहीन अवस्थामा राख्नु विडम्बनापूर्ण भएको बताए ।