सत्तारूढ राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री तत्काल नियुक्त गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले गृहमन्त्रालय भए पनि गृहमन्त्री नभएको र प्रधानमन्त्रीले नै उक्त जिम्मेवारी सम्हालिरहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीबाट हटेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै उक्त मन्त्रालय हेरिरहेका छन्।
‘यो देशमा सरकार छ कि छैन?,’ शाहीले प्रश्न गरे, ‘गृहमन्त्रालयको संयन्त्र छ। तर गृहमन्त्री खाली छ। प्रधानमन्त्रीले नै सबै मन्त्रालय सम्हाल्ने भए अरू मन्त्रालय किन चाहियो?’
उनले गत सोमबार नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट भएको र प्रहरीले काम नगरेको पनि बताए।