News in Nepali

सांसदका आवाज जनतासम्म पुर्‍याउन छुट्टै संसद् टीभी चाहिन्छ : प्रदीय यादव

Lumbinikhabar Online

जनता समाजवादी पार्टीका सांसद प्रदीय यादवले छुट्टै संसद् टेलिभिजन च्यानलको माग गरेका छन् । सांसदका आवाजहरू जनतासम्म पुर्‍याउनका लागि छुट्टै संसद् टेलिभिजन चाहिने सांसद यादवको माग छ ।

मंगलबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा आफ्ना कुरा राख्दै मिडियामा सबै सांसदको कुरा नआउने उल्लेख गर्दै सांसद यादवले अन्य मुलुकमा जस्तै नेपालमा पनि संसद्को छुट्टै च्यानल हुनुपर्ने बताएका हुन् । उनले भारतको उदाहरणसमेत दिएका थिए । भारतमा पहिले लोकसभा र राज्यसभाका प्रत्यक्ष प्रसारण गर्ने छुट्टाछुट्टै टीभी च्यानल थिए । तर २०२१ देखि दुवै टेलिभिजन च्यानललाई गाभेर संसद् टीभी बनाइएको छ ।

सांसद यादवले केही सांसदका कुरा मात्र मिडियामा आउने भन्दै आफूहरूको आवाज निर्वाचन क्षेत्रसम्म पुर्‍याउनका लागि प्रतिनिधिसभा टीभीको आवश्यकता रहेको बताएका हुन् । उनले भने, ‘जनतासम्म आवाज पुर्‍याउनलाई प्रतिनिधिसभाको टीभी चाहिन्छ । सांसदले उठाएको आवाज आफ्नो निर्वाचन क्षेत्रसम्म पुर्‍याउन पनि यो चाहिन्छ । जसको मिडियामा पहुँच छ त्यसको मिडियामा आइहाल्छ ।’

मिडियाले सबै सांसदको कुरा नसमेट्ने भएकाले संसद् टीभीको आवश्यकता रहेको उनको भनाइ छ । उनले अगाडि भने, ‘हामी बोल्छौं तर ५/७ जना सांसदबाहेकको आवाज जाँदैन । संसद्‍मा बोल्न त धेरै बोल्हुन्छ तर मिडियामा थोरै सांसदको मात्र जान्छ हामीले बोलेका कुरा संसद्‍मा मात्र सीमित भयो ।’

Tags

छुटाउनु भयो कि ?