जनयुद्ध दिवस’को अवसरमा सिन्धुलीको मरिण गाउँपालिकाले ६५ परिवारलाई २० हजारका दरले नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य लेखनाथ दाहालले जनयुद्धका क्रममा मारिएका र बेपत्ता भएका ६५ जनाको परिवारका सदस्यहरुलाई नगद र सम्मान प्रदान गरेका हुन् । जनयुद्ध सकिए पनि आर्थिक क्रान्ति बाँकी रहेको उनले बताए । जनयुद्धका समयमा सहिद, बेपत्ता, घाइते, लगायतका पीडित परिवारलाई अब राज्यले हेर्ने उनले आश्वासन दिए ।
मरिण गाउँपालिकाले ‘सहिद सम्मान’ भनेर बजेटमा नै व्यवस्था गरेको थियो । गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले युद्धमा परिवारको सदस्य गुमाउनेहरुलाई सिपमूलक तालिमको साथै रोजगारीको समेत व्यवस्था गर्ने वचन दिए । उनले भने, ‘१० वर्षे जनयुद्धमा सहादत प्राप्त गर्ने तथा बेपत्ताका परिवारजनलाई गाउँपालिकाले उचित सम्मान गर्नेछ ।’