नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
‘सबै पार्टीलाई समेटेर अगाडि बढनुपर्छ,’ उनले भने, ‘हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ ।’ संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुंगाउनु राम्रो हुने बताए ।
प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सबैलाई समेटर जानुपर्ने सुझाव दिँदै उनले मध्यावधि निर्वाचनतर्फ जान नहुने र यसलाई मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे ।
सुदूरपश्चिममा एमाले नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ । कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।