नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले प्रत्येक पालिकामा कालोपत्रे सडक पुर्याउने उद्देश्य लिए पनि अहिलेसम्म प्रतिबद्धता बमोजिम काम हुन नसकेको बताएका छन् । उनले ओखलढुंगाका स्थानीय तहमा नै कालोपत्रे सडक नपुगेको भन्दै कहाँ कस्तो अवस्था छ भन्नेबारे भौतिक पुर्वाधारमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘सरकारले प्रत्येक गाउँपालिकामा कालोपत्रे सडक पुर्याउने भनेको छ । तर, ओखलढुंगामा त पुगेको छैन, अन्यत्र के कसो छ ? कहिलेसम्म पुर्याउने हो ? यसबारे मन्त्रीज्यूले जवाफ दिनुपर्यो ।’
उनले भुकम्पपीडितहरूले घर निर्माणवापत् पाउनुपर्ने अनुदान रकम वितरणमा समेत ढिलासुस्ती भइरहेको बताए । ‘भुकम्पपीडितहरूले घर त बनाइसके, तर तीन लाख रुपैयाँ पाउने भनेको अहिलेसम्म पाएका छैनन्, त्यो कहिले पाउने हो ?,’ उनको प्रश्न छ ।