सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसँग आव्हान गरेका छन्।
राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसँग शनिवार भएको छलफल बोल्दै रजिष्ट्रार घिमिरेले अबदेखि सहकारीकर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नु पर्नेमा जोड दिए।
‘यतिबेला सहकारी क्षेत्रमा मात्र होइन, मुलुकको अर्थतन्त्र र विश्वमा समेत वित्तीय संकट देखिएको छ, सहकारीमा देखिएको वर्तमानको समस्या सहकारीका कारण आएको होइन। यसलाई समस्याका रुपमा होइन चुनौतीका रुपमा हेर्नु पर्छ’, रजिष्ट्रार घिमिरेले भने, ‘चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनु पर्दछ।’
सहकारीको विकास र प्रवर्द्धन गरी मुलुकलाई आर्थिक रुपमा सवल बनाउनका लागि कानुन वाधक देखिए त्यसलाई संशोधन गरेर अगाडि बढ्नु पर्ने उनले बताए।