News in Nepali

नेतृत्वको सुझबुझपूर्ण प्रयासले मात्रै देशले काँचुली फेर्छ : प्रदेश प्रमुख शर्मा

Lumbinikhabar Online

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राज्यको महत्वपूर्ण पदमा पुगेका व्यक्तिको सुझबुझपूर्ण र इमानदार प्रयासले सिंगो मुलुकले काँचुली फेर्ने दाबी गर्दै गम्भीर भएर लाग्न आग्रह गरेका छन्।

बागमती प्रदेश सभा बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भन्ने उक्तिलाई आत्मसात् गर्दै समुन्नत प्रदेश निर्माणको महाअभियानमा इमानदारीका साथ होमिन आग्रह गरे।

उनले अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न र संघीयतालाई सुदृढ बनाउन पनि राजनीतिक दल र तिनका नेतृत्व संवेदनशील हुनुपर्नेमा जोड दिए।
प्रदेशको राजनीतिक, आर्थिक एवं सामाजिक रूपान्तरणका ठुल्ठूला चुनौती रहेको बताउँदै यसलाई पार गर्न सके सफलताको क्षितिज हासिल गर्न सकिने उनले दाबी गरे।

यस्तै प्रदेश प्रमुख शर्माले गाँस, वास, कपास र शिक्षा–स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न, उत्पादनलाई जनजीविकाको सूत्रमा बाँधी औद्योगिकीकरणसँग जोड्ने कुराले प्राथमिकतामा पाउनुपर्ने बताए।

उनले वनको उचित संरक्षण र सदुपयोग गरी हेटौँडावरिपरिका सम्भावित क्षेत्रहरूमा मरिच खेती र फलफूल लगाई हाम्रो खानपान शैली परिवर्तन गर्न, अन्न उबार्न र विदेशी मुद्रा आर्जन गर्न सकिनेतर्फ सचेत गराउँदै परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिक व्यावसायिक कृषि प्रणाली अवलम्बन गराउने कुरामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

Tags

छुटाउनु भयो कि ?