रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, तीन निकायबाट कागजात झिकाउने निर्णय
रवि लामिछानेमाथिको आरोप पुष्टि भए उनीमाथि अहिलेको नभई २०२४ सालमा जारी भएको राहदानी ऐन अनुसार तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
हामीले आजमात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा उहाँको बारेमा विस्तृत विवरण मगाएका छौं’ सरकारी वकिलको कार्यालय काठमाडौंका एक सरकारी वकिलले भने, ‘उहाँ (युवराज पौडेल सफल)ले दिएको जाहेरीको सत्यता के हो, जाहेरीमा उल्लेख भए अनुसारको सत्यता हो कि होइन भन्ने परीक्षण हुन्छ । तीनवटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाउने योजना छ ।’
जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए । सरकारी वकिलले जाहेरीमा उल्लेखित व्यहोरासँग सम्बन्धित कागजात र अरु विवरण मगाएको हो l
लामिछानेले १० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०)मा त्यहाँको नागरिकता प्राप्त गरे । अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा नेपाली पासपोर्ट लिए ।