News in Nepali

कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : नेता महर

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा नेपाली कांग्रेस सधैँ सतिसाल झैँ खडा हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा नाफाघाटा नहेरेर अधिकार संरक्षणका लागि कांग्रेस सतिसाल झैं उभिने बताए।

लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहने उनको धारणा थियो । ‘जननिर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाका प्राणवायु नै हुन् । यी चार अंगको सन्तुलन र प्रभावकारिताले मात्र राष्ट्रले फड्को मार्न सक्छ,’ उनले भने ।
अझ स्वतन्त्र प्रेसबिना त झन् लोकतान्त्रिक व्यवस्थाले ठीकसँग काम नै गर्न नसक्ने उनको धारणा थियो । लोकतान्त्रिक व्यवस्थाबिना नेपाली कांग्रेसको राजनीतिक अभीष्ट पूरा हुन नसक्ने बताउँदै केन्द्रीय सदस्य महरले पत्रकारिताको विरुद्धमा कसैलाई पनि धावा नबोल्न चुनौती दिए ।

नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहन्छ । कसैको अधिकार हनन् हुँदा कांग्रेस अधिकार संरक्षणका पक्षमा उभिन्छ । लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा हामी नाफाघाटा हेर्दैनौं । फेरि भन्छौं, अधिकार संरक्षणका पक्षमा सतिसाल झैं उभिन्छौं,’ उनले भने ।

Tags

छुटाउनु भयो कि ?