News in Nepali

हत्याको आठ वर्षपछि फरार दुई देवरविरुद्ध जन्मकैदकाे फैसला

Lumbinikhabar Online

भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय र उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैदकाे फैसला सुनाइएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तलाई जन्मकैदकाे सजाय सुनाएको हो। अभियुक्तहरू दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ। आठ वर्षदेखि पेसी रोकिँदै आएको सो मुद्दा सप्तरी जिल्ला अदालतका १८ जना न्यायाधीशले हेरिसकेका थिए।

पटकपटक पेसी चढे पनि गत माघ १६ गते मुद्दाको ६१औँ पटक पेसी सारेर फैसला हुन सकेको थिएन। जिल्ला अदालतले शिवानन्दलाई ०७४ साउन ४ गते रु. २० हजार र विद्यानन्दलाई ०७४ असोज १ गते रु. १५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो।

जनकपुर उच्च अदालतको राजविराज इजलासले पनि ०७५ असार ७ गते उक्त आदेश सदर गरेपछि मृतकको छोरा बेचनले उक्त आदेशविरुद्ध ०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

सर्वोच्च अदालतले मातहतका दुवै अदालतको आदेश बदर गर्दै ०७७ असार ५ गते दुवै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकामा हालसम्म आरोपित दुवै फरार छन्।

सिसौको रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै गएपछि कुटपिट हुँदा लाठी र फलामको रड प्रहारबाट ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको ०७१ चैत १९ गते मृत्यु भएको थियो।

Tags

छुटाउनु भयो कि ?