News in Nepali

लुम्बिनीको सामर्थ्य उपयोगमा हामी चुक्यौं संग्रह

Lumbinikhabar Online

सामर्थ्यका हिसाबले लुम्बिनी प्रदेश असीमित सम्भावनाको क्षेत्र हो । आज हामीले जति देखेका छौं, देख्न सक्छौं, यसको सम्भावना त्योभन्दा निकै धेरै छ । नेपालको समग्र विकासको सन्दर्भमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा यो प्रदेशको वास्तविकतालाई चिन्न सक्दा पुष्टि हुन्छ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई चर्चा गर्दा हामी त्यो सच्चाइलाई महसुस गर्न सक्छौं ।

आजका मानिस जसका निमित्त पृथ्वी साँघुरो मात्र भएको छैन, अन्तरिक्षको यात्रा पनि सामान्य भएको छ । मंगल ग्रहमा बस्ती बनाउने परिकल्पना गर्न थालिएको छ । अहिलेको विश्व धेरैभन्दा धेरै आधुनिक आविष्कार गर्दै अघि बढेको छ । मानव जातिले धेरै कुराको सृष्टि गर्न सक्ला, कल्पनाभन्दा पनि माथिका धेरै सिर्जना गर्न सक्ला । तर अर्को कुनै लुम्बिनी बनाउन सक्दैन ।

गौतम बुद्धको जन्मभूमि अर्को कुनै नयाँ स्थानमा सिर्जना गर्न सक्दैन । यो शक्ति हामीसँग मात्र छ । यहाँ गौतम बुद्धको जन्मस्थान मात्र छैन, उनको बाल्यकाल र किशोरावस्था व्यतित भएको तिलौराकोट दरबार, उनको मावली रहेको देवदह पनि छ । उनको शरीरको अस्तु राखिएका विभिन्न ठाउँ पनि यहाँ छन् । यी स्थान अन्यत्र कसैले सिर्जना गर्न सक्दैनन् ।

गौतम बुद्धले ‘मेरो मृत्युपछि लुम्बिनी जानू’ भन्नुभएको थियो । यो सन्देश संसारभरका बौद्ध धर्मावलम्बीहरूसमक्ष पुर्‍याउन सक्दा मात्र बुद्धका धेरै अनुयायीलाई लुम्बिनीसम्म ल्याउन सकिन्छ । यति मात्र गर्न सके संसारको सबैभन्दा धेरै पर्यटक आउने पर्यटकीय स्थलका रूपमा लुम्बिनीको पहिचान बनाउन सकिन्छ । बौद्ध धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण पर्यटकीय केन्द्र लुम्बिनी र यस आसपासका क्षेत्र हुनेछन् भन्नेमा द्वविधा हुन सक्दैन । यसकारण लुम्बिनी अपार सम्भावना भएको स्थान हो ।

लुम्बिनीले यस क्षेत्रलाई मात्र नभएर नेपाललाई नै धेरै कुरा दिन सक्छ । तर त्यसलाई हामीले सदुपयोग गर्न सकेका छैनौं । यसका पछि धेरै कारण छन् । अहिले कारणमा अल्झिएर बस्ने छुट पनि हामीलाई छैन । हिजोका दिनमा हामी व्यवस्था परिवर्तनमा लाग्यौं । व्यवस्था परिवर्तनपछि संविधान निर्माण लाग्यौं ।

संविधान निर्माणपछिको संक्रमणकालीन अवस्थालाई चिर्दै अघि बढ्न पनि हामीले धेरै कसरत गर्नुपर्‍यो । यी कारणले पनि हामी लुम्बिनीको सम्भावना उजागर गर्ने अभियानमा चुकेका छौं । अब यस प्रदेशको सम्भावनालाई उद्घाटित गर्न र त्यसलाई सार्थक तुल्याउन कुनै कसर बाँकी राख्नुहुँदैन । अब समाजका कुनै पनि क्षेत्रले लुम्बिनीका सम्भावनालाई उजागर गर्नबाट रोक्नुहुँदैन । र सक्दैनन् पनि ।

Tags

छुटाउनु भयो कि ?