नेकपा एमालेका अध्यक्ष केपी ओली कांग्रेसविरुद्ध खनिएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनी कांग्रेसकाे कडा आलोचना गरेका हुन्।
कांग्रेसले नेतृत्व गरेको सरकारका कारण देशको अर्थतन्त्र जरजर बनेको बताए। व्यापारीले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको उनले दोहोर्याए।
संसदमा कांग्रेसका व्यवहारहरु बुझिनसक्नुको रहेको बताउँदै ओलीले सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्कने स्थितिमा रहेको उनको दाबी थियो।
ओलीले कांग्रेस प्रतिपक्ष मान्न तयार नै नरहेको बताए। ओलीले वृहत्तर राष्ट्रिय हीतमा काम गर्न कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरे।
‘हामी जनताका प्रतिनिधि राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमान्दारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गरौँ। राजनीतिक अस्थिरताको अन्त्य गरी मुलुकलाई राजनीतिक स्थायित्व नयाँ युगमा प्रवेश गरौँ । म सबै राजनीतिक दल र नेता साथीहरुलाई आग्रह गर्न चाहन्छु’, उनले भने, ‘राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा, सार्वभौमिक सत्ता, अखण्डता, स्वाधिनता, न्यायोचित हीतको सवालमा, समावेशी विकास र सुशासनसहित समृद्धिको सवालमा, अर्थतन्त्रको सबलीकरण, सेवाप्रवाहको व्यापक सुधार ल्याउने सवालमा राष्ट्रिय सहमति गरौँ ।
एमाले जस्तोसुकै सहयोग गर्न तयार छ । यस्ता कुरामा राष्ट्रिय सहमति हुनुपर्छ। हामीलाई सरकार गठनका लागि बहुमत प्राप्त भएन, हामी त्यो चाहनामा थिएनौँ, तर कांग्रेसमा सत्ता गठनका लागि असाधारण रुची र ब्याघ्रता थियो, काँग्रेसको स्वभावअनुसार सामान्य लिएका थियौँ । तर प्रतिपक्ष मानसिकताका साथ काँग्रेस गठित सरकारको प्रतिक्षा गरिरहँदा संविधानको व्यवस्था बमोजिम निर्धारित समय सकिएपछि हामीले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने कुरा अघि बढायौँ। नयाँ सरकार गठन भएसँगै जनातामा उत्साहको सञ्चार भएको छ।
यस बीचमा संसदमा नेपाली काँग्रेसका व्यवहारहरु बुझिनसक्नुका छन्। कांग्रेसका केही साथीहरुलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भएको छ। मन मानिरहेको छैन, तर प्रतिपक्षमा बस्नैपर्ने बाध्यता छ। कांग्रेस यतिबेला पानी बाहिरको माछा जस्तै छट्पटाएको देखिन्छ । सत्ता बाहिर काँग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा देखिन्छ।’