वाग्मती प्रदेशमा संसदीय समिति निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले समिति निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले तत्कालै कार्यव्यवस्था परामर्श समिति गठन गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार कार्यव्यवस्था समिति १६ सदस्यीय कायम गर्ने र समितिमा दलीय हिसाबमा प्रतिनिधि पठाउने निर्णय गरिएको छ ।
समितिमा प्रदेशका सभामुख‚ उपसभामुख र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ । समितिमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका ३, माओवादी केन्द्रका २ र अन्य दलबाट एक/एक जना सदस्य रहने बैठकले निर्णय गरेको छ ।
बैठकले प्रदेशसभाका अन्य ५ वटा समिति पनि गठन गर्ने निर्णय गरेको छ । सर्वदलीय बैठकले संसदीय समिति सोमबार गठन गर्ने र संसदीय समिति सभापतिको निर्वाचन भने माघ २५ गते गर्ने निर्णय गरेको हो ।
प्रदेशसभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहेका छन् ।