News in Nepali

पूर्वसभामुख सापकोटाको पहलमा निर्मित सुविधासम्पन्न रत्नराज्य माविको प्रधानमन्त्रीद्वारा उद्घाटन

Lumbinikhabar Online

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विद्यालय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उद्घाटन गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्। प्राइभेट हेलिकाेप्टरमा प्रचण्ड चनौटे पुगेका थिए।

उद्घाटनमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक संघीय क्षेत्र नं. १ का सांसद माधव सापकोटा, २ का सांसद मोहनबहादुर बस्नेत, बागमती प्रदेश सांसद सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायत थिए।

पूर्वसभामुख सापकोटाको पहलमा जुगल गाउँपालिका– ५ चनौटेस्थित निर्मित रत्नराज्य माध्यमिक विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’का छन्। एकै विद्यालयमा ६ वटा आधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणमा एक अर्बभन्दा बढी रकम लगानी भएको विद्यालय प्रशासनले जनाएको छ।

भवन निर्माणमा आवश्यक पर्ने बालुवा, गिटी र ढुंगा मात्रै नेपालको प्रयोग गरिएको छ । बाँकी सबै सामग्री चीनबाटै ल्याइएको हो। निर्माणमा संलग्न मजदुर पनि सबै चिनियाँ नै थिए । सन् २०१७ जनवरीमा सुरु भएर २०१९ डिसेम्बरमा निर्माण सम्पन्न भएको हो। भूकम्पपछि टहरामा बसेर कष्टपूर्वक अध्ययन गरेका बालबालिकाले अत्याधुनिक भवनमा बसेर पढ्न पाएका छन्।

नेपालका लागि चीनका राजदूत होउ यान्छी हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो। तर, समय नमिल्दा तीन वर्षपछि प्रधानमन्त्रीबाट उद्घाटन भएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए।

 

Tags

छुटाउनु भयो कि ?