भौतिक पूर्वाधारको काम नसकिँदै लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको देउखुरी सारिएपछि मन्त्रालय व्यवस्थापनको काममा कठिनाइ भएको छ ।
लुम्बिनी प्रदेशका मन्त्रालयहरु अहिले वडा कार्यालय, प्राविधिक शिक्षालयका भवनमा स्थानान्तरण भइरहेका छन् ।
कृषि मन्त्रालयलाई राप्ती गाउँपालिकाको वडा नम्बर २ को कार्यालयमा सारिएको छ । दुई तले भवनमा एउटामा वडा कार्यालय र अर्को तलामा मन्त्रालय राखिएको हो ।
सरकारका प्रवक्ता चेतनारायण आचार्यले मन्त्रालय स्थापनाको काम द्रुत गतिमा भइरहेको बताउँछन् ।
आचार्यले भने, ‘मन्त्रालय स्थापना र आवास व्यवस्थापनको काम धमाधम भइरहेको छ, स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय स्थापना गर्नुपर्नेछ ।’
प्रदेशसभा सचिवालयको भने आफ्नै भवन करिब तयार भएको छ । सभामुख र उप–सभामुखसहित प्रशासनिक कक्ष निर्माणको काम भने भइरहेको छ । पूर्वाधार नभएकै कारण बस्ने नसकेको प्रदेशसभा बैठक भोलि माघ १० गतेका लागि बोलाइएको छ ।