सत्ता साझेदार दलहरूबीच विभिन्न मुद्दामा मतभेद बढिरहँदा कांग्रेस राजनीतिक कोर्स करेक्सन गर्ने दाउमा छ । सरकारलाई विश्वासको मत दिएर प्रधानमन्त्रीसँग संवाद बनाइराखेको कांग्रेस राष्ट्रपति निर्वाचनसम्म पुग्दा गत १० पुसमा भत्किएको राजनीतिक कोर्सलाई करेक्सन गर्ने रणनीतिमा लागेको हो ।
राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र आफ्नै पार्टीले सिफारिस गरेको व्यक्ति नै हुनुपर्ने एमाले अध्यक्ष केपी ओलीको अडानले सत्ता साझेदार प्रमुख दुई दलबीच दूरी बढ्दो छ । गृह मन्त्रालय विवादसमेत जोडिएर प्रचण्ड–ओली दूरी बढ्दै गएको भन्दै कांग्रेसले पछिल्ला घटनाक्रममाथि गहिरो नजर राखेको छ ।
अनौपचारिक कुराकानीमा कांग्रेस नेताहरू राष्ट्रपतिको निर्वाचनलाई कांग्रेसले ‘कोर्स करेक्सन’को ‘टर्निङ पोइन्ट’ बनाउन खोजेको बताउँछन् । एक पदाधिकारीका अनुसार सरकार निर्माणका क्रममा पाँचदलीय गठबन्धन टुटेपछि २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ‘कोर्स करेक्सन’को सुरुवात गरेको थियो ।