कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिईओ बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । उनीहरुमाथि सुरुमा कामना सेवा विकास बैंकले नै अनुसन्धान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको थियो ।
राष्ट्र बैंकबाट आएको सूचनाका आधारका इलाका प्रहरी कार्यालय, दमकले उनीहरुलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । विभिन्न फर्जी कम्पनीहरु खडा गरेर ऋण प्रवाह गरिएको हालसम्मको अनुसन्धानमा देखिएको छ ।