News in Nepali

अमेरिकी उपमन्त्री नुल्यान्ड किन आउँदै छिन् नेपाल ?

Lumbinikhabar Online

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउँदै छिन् । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ ।

पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार वामपन्थी सरकार बनेपछि विदेश मुलुकबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिति बुझ्न र नयाँ सरकारसँग सहकार्य गर्नका लागि आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए । नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुन् ।

अमेरिकाका लागि पूर्व राजदूत सुरेश चालिसेले अमेरिकाबाट हुन लागेको उपमन्त्री नुल्यान्डको भ्रमण नियमित भएको टिप्पणी गरे । उनले अमेरिकाले नेपाललाई प्राथमिकतामा राख्छ भन्ने सन्देश पनि दिन खोजेको बताए ।

नेपाल र अमेरिकाको सम्बन्धलाई ध्यानमा राखेर हेर्दा दुई मुलुकबीच नजिकको सम्बन्ध छ,’ उनले भने,‘नयाँ सरकार बनेको छ । संसद्को अवस्था पनि पहिलेको भन्दा फरक अवस्था छ । यस विषयमा अमेरिकीहरु बुझ्न आउन लागेका हुन् ।’

साथै, अमेरिकाको सहयोगमा नेपालमा अघि बढेका परियोजनाहरु जस्तै एमसीसी लगायतको कार्यान्वयनको विषय बुझ्न पनि अमेरिकाबाट भ्रमण हुन लागेको उनले बताए ।

Tags

छुटाउनु भयो कि ?