News in Nepali

जुम्ला विमानस्थल खुलाउन हिउँ फाल्दै सुरक्षाकर्मी

Lumbinikhabar Online

जुम्लामा हिमपातले हवाईसेवा बन्द छ । मंगलबारदेखि भएको लगातारको हिमपातले धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा बन्द भएको हो ।

बिहीबार विहानदेखि हिमपात रोकिएको छ । यद्यपि दुई दिन निरन्तर परेको हिउँका कारण हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठले बताए । विहिबारदेखि मौसम खुलेपछि भने धावनमार्गमा जमेको हिउँ फाल्न सुरु भएको छ ।

मौसम खुलेपछि नेपालगंजदेखि जहाज आउन तयारी अवस्थामा छन् । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार सुरक्षाकर्मीले विमानस्थलमा जमेको हिउँ फालेर खुलाउने प्रयास गरिरहेका छन् । विहिबार विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले धावनमार्गको हिउँ फाल्न सुरु गरेका छन् ।

नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् ।

तीन दिनदेखि हिउँ परेर नेपालगंजदेखि जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा छन् । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएर स्थलमार्ग बन्द भएपछि हवाई मार्गका चाप बढेको छ । करिब ४ वटा जहाजका यात्रुहरु अहिले नेपालगंजमा थन्किएका छन् । प्राधिकरणका अनुसार आज ४ वटा उडान भर्ने तयारी छ ।

Tags

छुटाउनु भयो कि ?