News in Nepali

होस्टल नपाएपछि आइओएममा चर्केको आन्दोलन विद्यार्थी भन्छन्- होस्टल खाली

Lumbinikhabar Online

विद्यार्थी भन्छन्- होस्टल खाली राखेर हामीलाई बस्न दिइएन
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगञ्ज मेडिकल क्याम्पसमा एमबिबिएस पढिरहेका विद्यार्थीहरू सोमबारदेखि आन्दोलनमा छन्।

क्याम्पसले उनीहरूलाई होस्टल उपलब्ध नगराएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थीहरूको आन्दोलन मंगलबार पनि जारी छ। आक्रोशित विद्यार्थीहरूले सोमबार क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी समेत गरेका छन्।

सरकारले छात्रवृत्तिबाट छानिएका एमबिबिएस ७५ प्रतिशत विद्यार्थीहरूलाई निःशुल्क होस्टल व्यवस्था गरेको छ। तर क्याम्पसले आधा विद्यार्थीलाई पनि नराखेको विद्यार्थीहरूको आरोप छ।

‘छात्रावासमा बस्न पाउने हाम्रो अधिकार भए पनि हामीलाई बस्न दिइएन। आधाभन्दा कम विद्यार्थी राखिएको छ,’ आन्दोलनमा सरिक एक विद्यार्थीले भने।

नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजले पूरा गर्नुपर्ने मापदण्ड पुस्तिका; ‘एक्रिडेसन स्ट्यान्डर्डस् फर द एमबिबिएस- २०१७’ मा उल्लेख छ, ‘एमबिबिएस पढ्न छात्रवृत्ति पाएकामध्ये कम्तीमा ७५ प्रतिशत विद्यार्थीलाई होस्टल सुविधा उपलब्ध गराउनुपर्नेछ।’

यही नियमका आधारमा यहाँका विद्यार्थीले पनि प्रवेश परीक्षा दिएका थिए। ७५ प्रतिशत विद्यार्थी होस्टलका लागि छानिएका पनि थिए। तर उनीहरूलाई होस्टलमा ठाउँ खाली नभएको भन्दै बस्न नदिइएको विद्यार्थीहरू बताउँछन्।

‘होस्टलमा बस्न नाम निस्किएको भए पनि हामी बस्न पाएनौं। ठाउँ छैन भन्दै बारम्बार फिर्ता पठाइयो,’ एमबिबिएस तेस्रो वर्षमा पढिरहेका अर्का विद्यार्थीले भने।

उनीहरू ठाउँ खाली होला भन्दै कुरिरहे। नाम निस्किए पनि होस्टल नपाएपछि ७१ जना विद्यार्थी बाहिरै बस्दै आएका छन्। तीन वर्षदेखि उनीहरू आफ्नै खर्चमा निजी होस्टलमा बसिरहेको उनले जानकारी दिए।

‘हामीले पाएको सुविधा छाडेर बाहिर खर्च गरेर बस्नुपरेको छ। पढाइ आधा सकिन लागिसक्यो। बस्ने अझै टुंगो भएको छैन,’ उनले भने, ‘यसले त हाम्रो पढाइमा बाधा पारेको छ।’

उनीहरू निजी होस्टलमा एक जनाले कम्तीमा पन्ध्र हजार रूपैयाँ तिरेर बसेका छन्। राति १२ बजेसम्म क्याम्पसको पुस्तकालयमा बसेर पढेर होस्टल फर्किँदा समस्या हुने गरेको छ। बाटोमा लुटपाट समेत भएको उनीहरूले बताए।

Tags

छुटाउनु भयो कि ?