News in Nepali

भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानको आयोजना कविता प्रतियोगिता सम्पन्न

Lumbinikhabar Online

शनिबार भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगितामा रुपन्देहीका कवि यज्ञप्रसाद न्यौपानेको कविता ‘असहमतिको दस्तावेज’ सर्वोत्कृष्ट भएको छ ।  कवि भूपि शेरचनको ८७ औं जन्म जयन्तीको अवसरमा आयोजना गरिएको उक्त कविता प्रतियोगितामा न्यौपानेको कविता सर्वोत्कृष्ट भएको हो । यो संगै कवि न्यौपाने ४० हजार ७८ रुपैयाँ नगद पुरस्कार पाएका छन् । प्रतिष्ठानका कुलपति तथा महानगपालिकाका मेयर रेनु दाहालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी नुवाकोट ककनीका सुजन थपलियाको कविता ‘आमा’ उत्कृष्ट र काठमाडौं बनस्थलीकी राधिका कल्पितको ‘पेन्सन’ कविता उत्तम भए । उत्कृष्टले ३० हजार ७८ र उत्तम ले २० हजार ७८ रुपैयाँ नगद पुरस्कार पाएका छन् । पाल्पाका जनक कार्कीको कविता ‘चिहान खनिरहेको मान्छे’ र तनहुँकी नारायणी अधिकारीको कविता ‘दुर्गा भवानी उठ’ले प्रोत्साहन पुरस्कार स्वरुप जनही १० हजार ७८ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा देशका ४३ जिल्लाबाट ११५ जना कविहरुको कविता प्रतिष्ठानलाई प्राप्त भएको थियो । तीमध्ये १५ जनाको कविता मात्रै वाचनका लागि छनोट गरेर शनिबार पुरस्कृत गरेको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?