कार्यक्रम

विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम

Lumbinikhabar Online

गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी. आर. उपाध्यायले सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम गरेका छन् l आज राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध २५ वटा फरक फरक गीतको मेलोडी ( धुन ) २५ जना सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् l यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कुरा गीतकार डा. उपाध्यायले जानकारी गराए l कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l

समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शिर उठाउन’, सागर अधिकारी `शरद´ ले ‘तिलिचो ताल’, देवेन्द्र नेवा:ले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनियाँ ‘, प्रेम अर्यालले ‘उर्लिरहेका छन्’, धनेश परियारले ‘कुनै घुम्तीमा तिमीले’, नरहरि प्रेमीले ‘हावाले उडायो पछ्यौरी तिम्रो’, काव्य आचार्यले ‘स्वागत छ भाउजू हजुरलाई’, मञ्जु उपासनाले ‘मुटुभित्र मुटुको’ , एच.बी. सुनारले ‘यो मुटु अर्कैसँग’,  बेदु सारु मगरले ‘बत्तीस लक्षण भएकी’ , तुलसी गिरी ‘भावुक’ले  ‘समाजका हरेक कुरामा’ , प्रकाश मिश्रले ‘हामी बादलभित्र’, प्रवीण बराइलीले ‘हाँसीहाँसी दिल चोरेर’ , दिलिप लामाले ‘तिम्रो मेरो चोखो माया’, ज्योति प्रकाशले ‘कसम यो मात हो पिरतीको’, राज सागरले ‘तिमीले रोपेको विषालु काँडा’ र  सुबास प्रधानले ‘सपनीमा आउँछ्यौ तिमी’ बोलका गीतको धुन किबोर्डमा बजाएका थिए l

यसैगरी दीपक चौलागाईंले ‘जान्न चाहन्छिन् ऊनी अचेल’,  पुष्कर खत्रीले ‘जिन्दगीका हरेक रूप’,  अशोक बरालले ‘झिमझिम परेली झिमझिम’, सतिस शाहले ‘तिम्रो हरेक चाहना’ , सुरेन्द्र शाहीले ‘तिम्रो आँखाको नानीभित्र’ , बी.पी. वाग्लेले ‘सगरमाथा हिमाल’ र  तिलक भट्टराईले ‘दसैँ तिहार आयो’ बोलका गीतका धुन बजाएका थिए l यो प्रस्तुति निकट भविष्यमा विश्व रेकर्डमा दर्ता हुने कुरा थाहा भएको छ l

कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ आएका छन् । यस्तै, उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ , ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् भने १५ औं उपन्यास प्रकाशनको अन्तिम तयारीमा रहेको कुरा थाहा भएको छ l

Tags

छुटाउनु भयो कि ?